रौतहटको स्थानीय तहको वडा स्तरसम्म नै राष्ट्रिय परिचयपत्र बनाउनका लागि टोलि खटिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्लाको १८ स्थानीय तहको १ सय ५७ वटा वडामा टोली खटाएको छ । एउटा वडाम १५ देखि ३० दिनसम्म टोली रहने गरेकाले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह समेत गरेको छ । यता आगामी साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ ।आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्र भएकाहरुले मात्र सामाजिक सुरक्षा भत्ता लिन पाउने तयारी थालिएको छ । यसका लागि सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीको विवरण संकलन तीव्र पारिएको छ भने राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक प्रणाली हुने हुँदा भत्ता वितरणमा भएको अनियमितता अन्त्य हुने विश्वास सरकारको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अनुसार आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ । शाखाका अनुसार अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेका सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रका आधारमा दिने तयारीमा सरकार जुटेको छ ।अहिले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको भन्दै नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो । परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ । राष्ट्रिय परिचय पत्र बनाउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा), विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित÷ नाता प्रमाणितको सक्कल प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) वा विवरण पुष्टि हुने अन्य कागजातहरु आवश्यक पर्दछ ।